म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधिन झोलुङ्गे पुलबाट खसेर हिजो साँझ दुई मजदुरको मृत्यु भएको छ । निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलालीको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको मृत्यु भएको हो । वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो पुल तीन महिनादेखि निर्माणधीन अवस्थामा रहेको छ । ‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुकतर्फबाट बास बस्न फर्कने समयमा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एक घण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शब भेटिएको हो । दिनभरी पुलमा आवश्यक पर्ने सिमेन्ट बोकेका क्षत्री र थापा साढे पाँच बजे पुलबाट बाँदुक जानेक्रममा नदीमा थिए । निर्माणधिन अवस्थामा रहेको पुलका मजदुर, जनप्रतिनिधि, स्थानीयबासी घटनास्थलमा पुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी निरिक्षक सन्तोष रोकाले पोष्टमार्टमका लागि शब जिल्ला अस्पताल बेनी ल्याउन प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो । पुल निर्माणको क्रममा सुरक्षालाई विषेश ध्यान दिएपनि तारबार नगरिएको स्थानबाट आवत-जावत गर्नुपर्ने भएकाले दुर्घटना भएको बताइएको छ ।।