काठमाडौं: नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमित प्रसारण आजदेखि सुरु गर्दैछ।

अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। गत असोज १५ गते घटस्थापनादेखि एपी वानले परीक्षण प्रसारण सुरु गरेको थियो। एपी वान सबैभन्दा द्रूत प्रत्यक्ष प्रसारण गर्न सक्ने अत्याधुनिक प्रविधिसहित प्रसारणमा आएको हो।

नियमित प्रसारणको सुरुवातसंगै टेलिभिजनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो 'नेपाल आईडल' सहितका कार्यक्रमहरु प्रसारण गर्नेछ। सूचना र मनोरञ्जनलाई संयुक्त रुपमा प्रस्तुत गर्ने उद्देश्य लिएको टेलिभिजनमा सञ्चारक्षेत्रका चीरपरिचित हस्तीहरु क्रियाशील छन्।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपी वान टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। 'अन्नपूर्ण मिडिया नेटवर्कका अन्य माध्यमजस्तै एपी वान टेलिभिजनले स्वस्थ मनोरञ्जन, सहि सूचना र प्रष्ट दृष्टिकोणका साथ आफ्ना प्रस्तुति पस्कनेछ', अध्यक्ष थापाले भने।

टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले एपी वानले दर्शकको टेलिभिजन अभिरुचीलाई केन्द्रमा राखेर समाचार र कार्यक्रमहरु प्रसारण गर्ने जानकारी दिए। एपी वान टेलिभिजनबाट नेपाल आईडल, दिशानिर्देश, तमसोमा ज्योर्तिगमय,महटाइम, सिस्टम चेक, टेन टु फाईभ लगायतका बहुप्रतिक्षित कार्यक्रमहरु प्रसारण हुनेछन्।

अन्नपूर्ण मिडिया नेटवर्कका यसअघि नै अन्नपूर्ण पोष्ट दैनिक, अन्नपूर्ण टुडे म्यागेजिन, रेडियो अन्नपूर्ण, अन्नपूर्ण पोष्ट डटकम र अन्नानोट डटकमलगायतका प्रकाशन र प्रसारण माध्यम छन्।