काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको छ। ‘ग्रेट हल अफ दि पिपुल’मा सोमबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा केन्द्रीत रहेर भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्। राष्ट्रपति सीले आफू उपयुक्त समयमा चाँडै नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए। प्रधानमनन्त्री प्रचण्डले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश पनि चिनियाँ नेतृत्वलाई दिएको स्रोतको दाबी छ। नेपाललाई लगानीका लागि उर्वर भूमिको रुपमा चिनिया लगानीकर्तालाई प्रष्टयाएका प्रधानमन्त्री प्रचण्ड केरुङ काठमाडौ लुम्बिनी रेलमार्ग निर्माणले दक्षिण एशिया प्रवेश मार्गको रुपमा नेपाललाई विकास गराउन सकिनेमा विश्वस्त देखिएका छन्।

वान वेल्ट वान रोड (ओविओआर)मा सहभागिता जनाउने पूर्ण प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष पूर्व प्रधानमन्त्री केपी ओलीको भ्रमणका वेला गरिएका सहमति र समझदारीलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्। ओविओआर र पारवहन सम्झौतासहित अघिल्लो बर्ष भएका सहमति र समझदारी कार्यान्वयनको अवस्थाले केरुङ काठमाडौं लुम्बिनी रेल्वे लाइन विस्तारमा चिनिया लगानीले सार्थकता पाउन अधिकारीहरुले बताएका छन्। ओविओआर अवधारणामा जल र थल जोडेर ६४ मुलुकलाई सहभागी गराउने चिनिया योजनामा ४० मुलुकले हस्ताक्षर गरिसकेका छन् भने नेपालले अहिलेसम्म हस्ताक्षर गरेको छैन।

गत वर्ष चैत ७ देखि १२ गतेसम्म तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको चीन भ्रमणका क्रममा भएका समझदारीलाई पुनर्ताजगी गर्ने र केही विषयहरुलाई अगाडि बढाउने बारेमा दुई पक्षीय छलफल हुनेछ। ओलीको चीन भ्रमणका वेला जारी गरिएको १० बुँदे व्यापार तथा पारवहन सम्झौता र भ्रमणको अन्त्यमा जारी गरिएको २५ बुँदे संयुक्त वक्तव्यमा समेटिएका विषयहरुलाई पुनर्ताजगी गर्ने र ती विषयहरुलाई कार्यान्वयनमा लैजानेबारे दुई नेताबीच छलफल भएको बताइएको छ। दुई नेताबीच नेपालको संविधान कार्यान्वयनको अवस्था, घोषित स्थानीय तहको निर्वाचन, नेपाललाई तीब्र गतिमा विकासमा लैजाने उपायबारेमा पनि छलफल भएको छ।