१४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि भएको हत्याको अनुसन्धान नै नगर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय दास बढुवामा सिफारिस भएपछि यसमाथि प्रश्नहरू उठेका छन् । ‘बलात्कार’ शब्द नै उल्लेख नगरी मुद्दा कमजोर बनाउन सक्रिय दासलाई कारबाही गर्नुपर्ने मध्यक्षेत्रीय प्रहरी कार्यालयले नै माग गरेको थियो । तर, सात वर्षपछि उनी नै बढुवा समितिको नजरमा ‘योग्य’ ठहरिँदै एसपीमा सिफारिस भएपछि प्रहरी वृत्तभित्रै असन्तुष्टि बढेको छ । प्रहरी संगठन बाध्य भएर हाल उनलाई निलम्बन गरेको छ ।
५ माघ ०६८ मा रामेछापकी तामाङको बलात्कारपछि हत्या भएको थियो । दासको सन्दर्भमा मात्रै होइन, यसपटकको बढुवा गर्ने प्रवृत्तिलाई लिएर असन्तुष्टिहरू प्रकट भएका छन् । धेरैपछि बढुवा भएकाले यसबाट खुशी हुनेहरू पनि उत्तिकै छन् र यसलाई सकारात्मक रूपमा पनि हेरिएको छ । यद्यपि, केही पहुँच र शक्तिका आडमा बढुवामा परेपछि प्रश्नहरू पनि उठेका छन् । बढुवामै परेका तर असन्तुष्ट एक प्रहरी अधिकारी भन्छन्, ‘वस्तुनिष्ठ ढंगले मूल्यांकन गरी सिफारिस गर्नुपर्नेमा बढुवा समितिले स्वेच्छाचारी ढंगले सिफारिस गरेको छ ।’
गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बढुवा सिफारिस समितिले प्रहरी नियमावली २०७१ (संशोधन)सहित नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस भएकाहरूलाई एक सातापछि दज्र्यानी चिह्न प्रदान गरिनेछ । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनलाई नजरअन्दाज गर्दै बढुवा गरिएको प्रहरी स्रोतको दाबी छ । प्रहरी महानिरीक्षकको नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसको निरूपण नभई बढुवा समितिले प्रहरी अधिकृतदेखि डीआईजीसम्मको बढुवा गरेको छ ।
११ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । डिआइजी नवराज सिलवालको नाम बढुवाका लागि सिफारिस गरिएको छैन । बढुवाको एक नं मा बमबहादुर भण्डारी सिफारिस भएका छन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयले आईजीपीमा बढुवा भएका जयबहादुर चन्दको हैसियत झन् खस्किएको छ । डीआईजी बढुवामा उनी २ नं मा सिफारिस भएका छन् । डीआईजी चन्दलाई ३ फागुन ०७३ देखि लागु हुनेगरी तत्कालीन मन्त्रिपरिषद्ले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय त्रुटिपूर्ण भएको ठहर गर्दै सर्वोच्चले बहालवाला डीआईजीमध्ये योग्यतम् तथा कार्यसम्पादन मूल्यांकनमा उच्चतम् अंक प्राप्त गरेका व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि सरकारले अर्याललाई आईजीपीमा नियुक्त गरेको थियो । चन्दविरुद्ध मुद्दा परेपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यससम्बन्धी मुद्दा अझै टुंगिएको छैन । जबकि, आईजीपी अर्यालसँगै सिलवाल पनि एकै दिन (४ पुस ०६९) डीआईजीमा बढुवा भएका थिए ।
त्यस्तै ३ नं मा देवेन्द्र सुवेदी सिफारिस भएका छन् । चौथोेदेखि क्रमशः पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआईजीका लागि बढुवामा सिफारिस गरिएको छ । यसअघि एआईजीको संख्या सात थियो । यस पटक बढाएर ११ पुर्‍याइएको छ ।