अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका केसीलाई कडा सुरक्षाका बीच प्रहरीले बुधबार पौने नौ बजे नै सर्वोच्च अदालतमा उपस्थित गराएको हो । केसीले आफूलाई जेलमा राखिए त्यहीँ अनसन बस्ने चेतावनी दिनुभएको छ । सर्वोच्च अदालत लैजानु अघि सञ्चारकर्मीसँग प्रतिकृया दिदै केशीले प्रधानन्याधीसले राजीनामा नदिए सम्म अनसन जारी रहने बताउनुभयो । यसैबीच, डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन शुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । भट्टराईले विना सर्त डा. केशीको रिहाइ हुनुपर्ने बताउनुभएको छ ।  नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्चले यसअघिका मानहानीका मुद्धा एकातिर राखेर डा केसीलाई पक्राउ गर्नु न्यायसंगत नरहेको  तर्क व्यत गर्नुभएको छ ।  विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले गोविन्द केसीको माग र भनाइलाइ राजनीतिकरण गरिएको भन्दै तत्काल रिहाइ गरि छानविन अगाडी वढाउनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सर्वोच्चले आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।