साउन ११, काठमाडाैँ
शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० औं दिनमा देउवाले १९ जना मन्त्री थप गरेर २७ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको हो । बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त १९ जना मन्त्रीलाई एकसाथ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । संसदबाट साउन २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले २४ गते पदभार ग्रहण गर्दै ८ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । तर विचमा स्थानीय तहको दोस्रो निर्वाचन परेका कारण मन्त्रिमण्डल विस्तार प्रभावित भएको थियो । दोस्रो तहको निर्वाचन सकिएपछि पनि राजपाको मागलाई पूरा गर्ने भन्दै गरिएका प्रयास निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री देउवाले वुधवार मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीमण्डलमा कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, नेपाल फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री बनेका छन् । नयाँ मन्त्री थपसँगै मन्त्रिमण्डलको संख्या २७ सदस्यीय भएको छ । सपथग्रहण समारोहमा उपस्थित उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अव सरकारले प्रभावकारी ढंगले काम गर्ने दावी गरे ।शितलनिवासमा शपथ लिइरहँदा नवनियुक्त मन्त्रीहरुमा खुसी र जिम्मेवारी एकसाथ देखिन्थ्यो । अव आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।
मन्त्रीहरुको शपथ कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रीमा शपथ लिएका महेन्द्र यादव भने दौरा सुरुवाल लगाउन समेत नभ्याएको जस्तो देखियो । कांग्रेसबाट बनेका अन्य मन्त्री दौरा सुरुवालमा सजिएर उपस्थित भएपनि उनी कुर्ता पाइजाममा देखिन्थे । कांग्रेसबाट अर्जुन जोशी वा चीनकाजी श्रेष्ठ मध्ये एक बनाउने तयारी भएपनि बालुवाटारबाट शीतलनिवास पुग्दा दुवै नाम काटिएर यादवको नाम थपिएपछि उनले दौरा सुरुवाल समेत लगाउन भ्याएनन् ।
नवनियुक्त मन्त्रीहरुमा मोहनबहादुर वस्नेत सूचना तथा सञ्चार, भीमसेनदास प्रधान रक्षा, यज्ञबहादुर थापा कानुन, वीर वहादुर वलायर भौतिक, राजेन्द्र कुमार केसी युवा तथा खेलकुद मन्त्री छन् । त्यस्तै माओवादी केन्द्रबाट गिरिराजमणी पोखरेल स्वास्थ्य, महेन्द्रवहादुर शाही उर्जा, टेकबहादुर वस्नेत सामान्य प्रशासन, फोरमबाट जितेन्द्र देव पर्यटन र गोपाल दहित भूमिसुधारमा दोहोरिएका छन भने नेकपा संयुक्तबाट मिथिला चौधरी जनसंख्या मन्त्री बनेकी छिन् । मन्त्री मण्डलमा महिलाको संख्या नगन्य देखिएको छ ।।