ससस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । आज धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लवलाई २-० ले पाखा लगाउँदै एपीएफ गोल्डकपको अन्तिम चारमा पुगेको हो । संकटा अघिल्लो वर्ष फाईनलमा मनाङ मस्याङ्दीसँग १-० ले पराजित भएको थियो ।विभागीय टोली एपीएफलाई जिताउन युवा खेलाडी अन्जन विष्ट नायक रहे । ह्याट्रिक गर्नवाट चुकेका उनले दुवै गोल गरे । पहिलो हाफको २३ औँ मिनेटमा गोल गर्दै आफ्नो टीमलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका उनले दोस्रो हाफको ८५ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल थप्दै आफ्नो टीमको जित सुनिश्चित गरेका थिए ।प्रतियोगिता अन्तर्गत भोली नेपाल आर्मी क्लव, थ्री स्टार क्लवसँग प्रतिस्पर्धा गर्नेछ । वाई पाएर क्वाटरफाईनल पुगेको आर्मी र रमपम झापा ११ लाई ३-१ ले हराएर थ्री स्टारले सेमिफाईनल प्रवेशका लागि एक आपसमा भिड्न लागेका हुन ।।