राखेप च्याम्पियन राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । क्लिन एण्ड जर्कमा राईले ६६ केजी तौल उठाउँदै १२ वर्ष अघि विरगंजमा निता थापाले राखेको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन् । तर उनी स्न्याचमा राष्ट्रिय रेकर्ड कायम गर्न भने असफल भईन् । यद्यपी उनले स्न्याच, क्लिन एण्ड जर्कमा ११८ केजी तौल उठाउँदै थापाको रेकर्ड बराबरी गरिन् । नेपाल आर्मीकी मनिषा रानाभाटले ६४ केजी तौल उठाएपछि राईलाई ६६ केजी तौल उठाउने चुनौति थपियो । रानाभाटले रेकर्डको लागि ६६ केजी उठाउने प्रयास गरिन् । तर असफल भईन् । उनी असफल भएपछि रेकर्ड कायम गर्ने अवसर राईलाई जुरेको थियो । राईले ६६ केजी उठाउँदै राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण पदक जितन् । राईले क्लिन एण्ड जर्क सँगै स्न्याचमा पनि स्वर्ण जितिन् । यसैगरी प्रतियोगिता अन्तर्गत करिना चौधरीले ३५ केजी तौल र क्लिन एण्ड जर्कतर्फ ५१ केजी तौल उठाउँदै समग्र ८६ केजी उठाएर कास्य पदकमा चित्त बुझाईन् । प्रतियोगितामा २८ जिल्ला, तीन विभागीयका विभिन्न तौलमा महिला तथा पुरुष गरी १८२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।