आईसीसी एसिया यू १९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजीत गरेको छ।
सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले २२.२ ओभरमै पुरा गर्यो । टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भएको थियो । प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे।
अजिजले सर्वाधिक ४६ रन बनाए। विरनादीपले १० रन जोडे। मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के।
बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए। साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए।