नेपालका पेट्रोल पम्पमा भारतीय लर्को

Author : Admin

काँकडभिट्टा : झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् । त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् । नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् ।

भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् । उनीहरूले तेल फुल ट्यांकी हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा प्राथमिकता पाउँछन् । पेट्रोल प्रतिलिटर ११.७ र डिजेल १५.४४ रुपैयाँले सस्तो हुँदा भारतीय सवारीको लर्को लाग्ने गरेको छ ।

नेपालमा पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ ५० पैसा र डिजेल ९५ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको नेपाल आयल निगमको चारआली डिपोले जनाएको छ । डिपोका सूचना अधिकारी लोकमणि पौडेलका अनुसार भारतमा डिजेल प्रतिलिटर १ सय १० रुपैयाँ ९५ पैसा र पेट्रोल १ सय १९ रुपैयाँ ५७ पैसा पर्छ ।

नेपालमा धेरै तेल हाल्दा फाइदा हुने हुँदा यता आउने गरेको भारतीय चालक बताउँछन् । सिलिगुडीका ट्रक चालक पवन वंशलले भारतभन्दा नेपालमा तेल सस्तो पर्ने भएकाले आफू यता आउन थालेको बताए । ‘नेपाल–भारत कुद्ने ट्रक हो । भारतभन्दा नेपालमा डिजेल सस्तो छ’, उनले भने, ‘यता आएको समयमा ट्यांकी पूरै भरेर जाने गरिएको छ । पूरा ट्यांकी हाल्दा जाँदा र आउँदा पुग्छ ।’